काठमाडौं, साउन ६ — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच औद्योगीकरणको आवश्यकता र सम्भावनाका विषयमा विशेष छलफल भएको छ। प्रधानमन्त्री ओलीले नेपालको समग्र आर्थिक विकासका लागि देशभित्र उत्पादन वृद्धि गरेर औद्योगीकरणमा जोड दिनुपर्ने बताए।
उनका अनुसार अब आयातमा भर पर्नु भन्दा स्वदेशमै उत्पादन बढाएर निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नु महत्वपूर्ण छ।
प्रधानमन्त्रीले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार कानुनी र नीतिगत सुधारका उपायहरू अगाडि ल्याइरहेको जानकारी गराए। उनले उद्योग विस्तारका लागि सरकारले आवश्यक वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले ‘मेड इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउँदै आयात प्रतिस्थापनमा जोड दिन थालेको बताए। परिसंघले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको जानकारी पनि उनले दिए।
परिसंघको प्रारम्भिक अध्ययन अनुसार, सो लक्ष्य प्राप्तिका लागि आठवटा मुख्य क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने देखिएको छ। यी क्षेत्रमा लगानी, रोजगारी सृजना र उत्पादन वृद्धि गरेर दीर्घकालीन औद्योगिक विकास सम्भव हुने परिसंघको निष्कर्ष छ।



