काठमाडौं, साउन १० — साइकोलोजिकल थ्रिलर विधामा निर्माण भएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक गरिएको छ। शनिबार, मुख्य अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माण पक्षले चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो।
प्रदर्शनमा देखाइएको कथाले मनोवैज्ञानिक तनाव, पारिवारिक सम्बन्ध र डर को भावनात्मक मिश्रण प्रस्तुत गर्छ। सुरुमा छोरीले बुवालाई आफूले देखेको डर लाग्दो सपना सुनाउने दृश्य देखिन्छ, जहाँ बुवा उसलाई ढाडस दिइरहेका हुन्छन्, सपनामा मरेको देख्नु राम्रो संकेत हो भन्ने विश्वास दिलाउँदै। त्यसपछि, अर्को दृश्यमा हातमा रगतले लतपतिएको बन्चरो बोकेर उभिएकी युवतीको क्रोधित मुहार देखिन्छ, जसले कथाको डरलाग्दो र रहस्यमय तत्त्वलाई उजागर गर्छ।
चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन् भने अन्य कलाकारमा महेश त्रिपाठी, आयुष्मान देशराज जोशी र सुरक्षा इटानी पनि देखिनेछन्। निर्देशन बलिराम चौहानको रहेको यस फिल्मको निर्माणमा भोलानाथ कटुवाल, रमन ग्रे, छायाकार नरेन्द्र मैनाली र बेनिशा हमाल आफै कार्यकारी निर्माता रूपमा संलग्न छन्।
‘द ब्ल्यू लाइट’ मंसिर १२ गते प्रदर्शनमा आउने तय गरिएको छ। टिजरमा देखिएको गहिरो मनोविज्ञान, रहस्य, र त्रासले दर्शकको कौतुहलता अझ बढाएको छ।



