काठमाडौं, भदौ ३० — अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार अन्तर्गत तीन नवनियुक्त मन्त्रीले सोमबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराए।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार साँझ उनीहरूलाई नियुक्त गरिएको थियो। शपथपछि आजै सिंहदरबार पुगेर पदभार सम्हाल्ने तयारी गरिएको छ।
मन्त्रालयको जिम्मेवारी
- रामेश्वर खनाल – अर्थ मन्त्रालय
- कुलमान घिसिङ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
- ओमप्रकाश अर्याल – गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालय
प्रधानमन्त्री कार्कीले बाँकी मन्त्रालयहरू आफैं सम्हाल्नेछिन्।
खनाल पूर्वअर्थ सचिवका रूपमा आर्थिक सुधार र सुशासनको पक्षधर मानिन्छन्। घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुँदा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका थिए। अधिवक्ता अर्याल भने लोकमानसिंह कार्कीविरुद्धको ऐतिहासिक मुद्दा दायर गरेर चर्चित बनेका हुन्।
शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।



