काठमाडौँ, असार ७ — इजरायल–इरान युद्धको प्रभावका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकको उद्धार भारत सरकारमार्फत हुने भएको छ। नेपाल सरकारले औपचारिक अनुरोध गरेपछि इरानस्थित भारतीय दूतावासले नेपाली नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी थालेको हो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपालीलाई उद्धार गर्न भारत सरकारसँग विशेष अनुरोध गरेकी थिइन्। उनले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत भारतीय पक्षलाई आग्रह गर्दै भनिन्, “हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक इरानमा हुनुहुन्छ। भारतीय नागरिक उद्धारको क्रममा उनीहरूलाई पनि सहयोग गरिदिनुहोस् भन्ने अनुरोध गरेका छौं।”
नेपालका लागि भारतीय दूतावासले अनुरोध स्वीकृत गरेपछि परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई तुरुन्तै भारतीय दूतावासको सम्पर्कमा जान निर्देशन दिएको छ। इरानस्थित भारतीय दूतावासले पनि सूचना जारी गर्दै नेपाली तथा श्रीलंकाली नागरिकहरूलाई सम्पर्क गर्न आह्वान गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हाल इरानमा १६ जना नेपाली रहेको पुष्टि भएको छ। तीमध्ये पाँच जना अध्यागमनसम्बन्धी कानुनी कारणले इरानी जेलमा छन्। मन्त्रालयले उनीहरूको रिहाइ तथा स्वदेश फर्काउनका लागि पनि भारतसँग सहकार्य गर्दैछ।
यस उद्धार प्रयासमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई समन्वयात्मक भूमिका दिइएको छ। नेपाल सरकार भारतीय पक्षसँगको सहकार्यबाट सकारात्मक नतिजा आउने विश्वासमा छ।



