काठमाडौं, असार २७ — कोभिड–१९ महामारीपछि थला परेको नेपाली घरजग्गा बजारलाई गति दिन नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा सहुलियतपूर्ण व्यवस्था ल्याएको छ। लामो समयदेखि लिलाममै धितो बस्ने तर किन्ने कोही नआउने अवस्थाबीच अब घर खरिद गर्न चाहनेलाई केही राहत मिल्ने देखिएको छ।
नयाँ नीतिअनुसार अब बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। साथै, पहिलो घर खरिदकर्ताका लागि मूल्यांकन गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ, जुन अघिसम्म ७० प्रतिशत मात्र थियो।
यस व्यवस्थाले विशेषगरी आफ्नै घर किन्न चाहने तर कर्जा सीमाका कारण अप्ठेरोमा परेका धेरैलाई सहज बनाउने अपेक्षा गरिएको छ। आधुनिक वा महँगो मूल्यको घर किन्ने सोचमा रहेका व्यक्तिहरू अब बैंकबाट अपेक्षाकृत धेरै कर्जा लिन सक्नेछन्।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष ध्रुव घिमिरे भन्छन्, “कर्जा सीमा बढाउनु राम्रो हो तर त्यत्तिले मात्र पुग्दैन। आम्दानी प्रमाणित गर्ने प्रक्रिया अझै सहज र व्यवहारिक हुन जरुरी छ।”
कोभिडपछि घरजग्गा कारोबार सुस्त हुँदा बैंक, सहकारी र लगानीकर्ताहरू नै दबाबमा परेका छन्। त्यसमाथि लिलाम बिक्रीका घरमा समेत रुचि नदेखिनु थप चिन्ताको विषय बनेको थियो। अब राष्ट्र बैंकको यो कदमले बजारमा केही आशा जगाउने र कारोबार विस्तारमा सहयोग पुग्ने अनुमान गरिएको छ।



