काठमाडौं, साउन २१ — प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन्। तुर्कमेनिस्तानमा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत एलएलडिसीको तेस्रो सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभाव विशेषगरी भूपरिवेष्ठित विकासशील राष्ट्रहरूमा गम्भीर रूपमा देखिएको उल्लेख गर्दै, नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान दिए पनि जलवायु संकटका सबैभन्दा गम्भीर असर भोगिरहेको बताए। उनले हिमालय क्षेत्रको पग्लंदो अवस्था र समुद्री सतह वृद्धिले मानवीय र भौतिक जोखिम बढाएकोप्रति चिन्ता व्यक्त गरे।
उनले सगरमाथा संवादजस्ता पहलमार्फत नेपालले जलवायु संकटको सामना गर्न प्रयास गरिरहेको भन्दै, दीर्घकालीन जलवायु अनुकूलन रणनीति कार्यान्वयनमा अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोग अपरिहार्य भएको बताए।
“हिमालय क्षेत्र प्राकृतिक रिचार्ज सिस्टम हो, यसको संरक्षण नगरे समुद्रको तापक्रम बढ्दै जान्छ,” प्रधानमन्त्री ओलीले भने, “हिमालदेखि समुद्रसम्मको जलवायु अनुकूलन कार्ययोजना निर्माणका लागि विश्वसाझेदारी अबको आवश्यकता हो।”
उनले दिगो विकासका लक्ष्यहरू हासिल गर्न एकीकृत तथा समन्वित कार्यको खाँचो औंल्याउँदै, नेपाल यस क्षेत्रमा विश्व समुदायसँग सहकार्य गर्न तत्पर रहेको स्पष्ट पारे।
प्रधानमन्त्रीको सम्बोधनले विश्वव्यापी जलवायु रणनीतिमा हिमाली राष्ट्रहरूको भूमिका र चिन्ता उजागर गरेको छ।



