काठमाडौं, १४ भदौ – लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमान (खान) हृदयघातका कारण निधन भएका छन्। नगरपालिकाका वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानका अनुसार मेयर खान बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटोमै निधन भएका हुन्।
सजरुद्दिन मेयर मलेशिया भ्रमणबाट शुक्रबार मात्र फर्किएका थिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित थिए र ७० वर्षका थिए। नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले मेयर खानको आजै साँझ ५ बजे स्थानीय कब्रिस्तानमा परम्परागत अन्त्येष्टि गरिने जानकारी दिए।



