काठमाडौं, भदौ ३१ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण मंसिर १ गतेदेखि तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, संघले फ्रेन्चाइजहरुसँग छलफल गरेर एनपीएल निर्धारित मितिमा नै गर्ने सहमति प्राप्त गरेको छ। उनले भने, “हालको अवस्था अनुसार हामीले सुरक्षा र अन्य व्यवस्थालाई सुनिश्चित गर्दै एनपीएल आयोजना गर्ने तयारी गरेका छौं। परिस्थिति अनुसार आवश्यक परे मात्र समायोजन गरिनेछ। तर प्राथमिक योजना तोकिएकै मितिमा खेल सुरु गर्नु हो।”
एनपीएलको दोस्रो संस्करणमा आठ टोली प्रतिस्पर्धा गर्नेछन्। हालै संघले खेलाडीको अक्सन सम्पन्न गरेको छ भने केही टोलीले मुख्य प्रशिक्षक र विदेशी खेलाडीहरूको पनि घोषणा गरिसकेका छन्।
- काठमाडौं गोर्खाजले राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाइलाई मुख्य प्रशिक्षक नियुक्त गरेका छन्।
- सुदुरपश्चिम रोयल्सले अस्ट्रेलियन क्रिकेटर क्रिस लिनलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेका छन्।
अन्य फ्रेन्चाइजहरू पनि विदेशी खेलाडी अनुबन्धका लागि आन्तरिक तयारीमा रहेका छन्।
प्रतिस्पर्धा गर्ने टोलीहरूमा साविक विजेता जनकपुर बोल्ट्स, विराटनगर किङ्स, काठमाडौं गोर्खाज, चितवन टाइगर्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स समावेश छन्।
क्यानले एनपीएलको आयोजना गर्दा सुरक्षा, व्यवस्थापन र परिस्थितिलाई ध्यानमा राख्दै योजना अगाडि बढाउने बताएको छ।



