काठमाडौं, असार २७ — नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाउने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा यो व्यवस्था गरिएको हो।
गभर्नर डा. विश्वनाथ पौडेलले नीति सार्वजनिक गर्दै सेयर धितोमा आधारित कर्जामा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको जानकारी दिए।
यो व्यवस्था बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको सेयर धितो कर्जा लिने व्यक्तिहरूका लागि लागू हुनेछ। सेयर बजारमा लगानीकर्ताको पहुँच विस्तार र तरलता प्रवाहलाई सहज बनाउने उद्देश्यले यो निर्णय गरिएको हो।
राष्ट्र बैंकको यस कदमले सेयर बजारमा थप उत्साह ल्याउने अपेक्षा गरिएको छ, विशेषगरी ठूला लगानीकर्ताका लागि कर्जा पहुँच सजिलो हुने देखिन्छ।



