काठमाडौं, ८ भदौ – साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक १८.०२ अंकले घट्दै २७३९.९५ अंकमा स्थिर रह्यो।
बजार सूचक ओरालो लागे पनि कारोबार रकम भने बढेर ६ अर्ब ५४ करोड पुगेको छ, जुन अघिल्लो दिनको ५ अर्ब २ करोडको तुलनामा उल्लेख्य वृद्धि हो। कुल ४१ कम्पनीको मूल्य बढ्दा २०८ कम्पनीको मूल्य घटेको देखियो।
क्षेत्रगत सूचकमा उत्पादन तथा प्रशोधन बाहेक सबैमा गिरावट आएको छ। सो समूह ०.१५ प्रतिशतले उक्लिँदा, विकास बैंक समूह १.६९ प्रतिशतले घट्दै सबैभन्दा प्रभावित रह्यो। त्यसैगरी बैंकिङ ०.८८, हाइड्रोपावर १.१९, होटल तथा पर्यटन ०.६८, फाइनान्स ०.५३, जीवन बीमा ०.४४, निर्जीवन बीमा ०.५०, लगानी ०.७८, माइक्रोफाइनान्स ०.१५, व्यापार ०.१९ र अन्य समूह ०.१० प्रतिशतले कमजोर भए।
कम्पनीगत उतार–चढाउमा विकास हाइड्रोपावर १० प्रतिशतले बढ्दै ३८८.७० रुपैयाँमा पुगेको छ। त्यसैगरी सीवाईसी लघुवित्त, हिमालयन डिस्टिलरी र अपर स्याङ्गे हाइड्रोपावरले पनि उल्लेख्य वृद्धि गरे। विपरीत, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.२९ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमायो। पियोर इनर्जी, सान्भी इनर्जी र रावा इनर्जीको मूल्य पनि करिब ४ प्रतिशतसम्म घट्यो।
कारोबार रकमका हिसाबले हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। यस कम्पनीको मात्रै १ अर्ब ७५ करोड बराबरको शेयर किनबेच भयो। त्यसपछि नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट प्रमुख कारोबार भएका कम्पनी बने।



