काठमाडौं, भदौ १३ — पर्सा जिल्लामा फैलिएको हैजा सङ्क्रमणबाट निको भएर घर फर्किने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ४४७ जना संक्रमित उपचारपछि स्वास्थ्य सुधार भएर घर फर्किएका छन्।
कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म जिल्लामा ६७६ जना शंका लागेका बिरामी भेटिएका छन्। तीमध्ये १५२ जनामा हैजा पुष्टि भएको छ। पुष्टि भएका बिरामीमध्ये ७८ जना निको भइसकेका छन् भने बाँकी ७४ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।
हाल वीरगन्जका अस्पतालहरूमा हैजा र झाडापखाला पीडित १५२ जना बिरामी उपचाररत छन्। तीमध्ये ३२ जना आईसीयूमा, ७ जना एचडीयुमा र १८७ जना सामान्य वार्डमा भर्ना छन्। अस्पतालहरूको विवरणअनुसार नारायणी अस्पतालमा मात्रै ४९ जना, तराई अस्पतालमा ४६, नेशनल मेडिकल कलेजमा २० र अन्य निजी तथा सामुदायिक अस्पतालमा पनि बिरामी उपचार भइरहेको जनाइएको छ।
स्वास्थ्यकर्मीहरूले उपचार निःशुल्क उपलब्ध भएपछि बिरामीहरू निजी अस्पताल छाडेर सरकारी अस्पताल, विशेषगरी नारायणी अस्पतालतर्फ बढी आकर्षित हुन थालेको बताएका छन्। अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताका अनुसार औषधि र सेवा दुवै निःशुल्क भएपछि पछिल्लो दिनमा नारायणी अस्पतालमा भर्ना हुनेको संख्या उल्लेख्य बढेको हो।
वीरगन्जमा हैजा संक्रमित भेटिएको आज आठ दिन पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रणका लागि सुरक्षित खानेपानी, सरसफाइ र सचेतनामूलक अभियानलाई प्राथमिकतामा राख्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।



