काठमाडौं, भदौ ५ — गायिका इन्दिरा जोशीले कामका क्रममा अनुभव हुने तनावलाई व्यवस्थापन गर्न पशुपति मन्दिर जाने अभ्यास आफूले गर्दै आएको बताएकी छन्। बुधबार पशुपति क्षेत्रमा जारी विराट ज्ञान महायज्ञमा उपस्थित हुँदै उनले आफ्नो अनुभव साझा गरिन्।
उनले सुझाव दिइन्, “यदि तपाईँमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस, परेवालाई चारो छर्नूस। यो अभ्यास लगातार १५ दिनसम्म गर्दा जस्तोसुकै तनावमुक्त हुनुहुन्छ।” उनले मन्दिरको वातावरणले मनलाई आनन्दित बनाउने र जीवनका कुरा बुझाउन मद्दत गर्ने अनुभव सुनाइन्।
गायिकाले आफ्नो जीवनमा दुःख र सुखमा सधैं भगवानलाई सम्झिने प्रथा रहेको बताइन्। “म समय–समयमा पशुपतिनाथ मन्दिर आइरहेकी छु। कहिले काम नबन्दा, कहिले काम हुँदा पनि भगवान सम्झिनु मेरो जीवनको भाग हो,” उनले भनिन्।
साथै उनले आम्दानीको केही प्रतिशत गुप्त दान गर्नुपर्ने र त्यसलाई केवल भगवानले मात्र देख्नुपर्नेमा जोड दिइन्। “जति कमाउनुहुन्छ, त्यसको केही हिस्सा दान गर्नुहोस्। फोटो खिच्नु पर्दैन, अरुले नहेर्नुहोस्, केवल भगवानले देखुन्। यो हाम्रो होइन, भगवानको हो भन्ने महसुस एकदिन हामी सबै छोडेर जानैपर्छ,” उनले भनिन्।



