काठमाडौं, साउन १ — पाकिस्तानको पन्जाब प्रान्तमा अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ। बुधबार बिहानदेखि निरन्तर परेको वर्षाले एकै दिनमा ६३ जनाले ज्यान गुमाएका छन् भने २९० भन्दा बढी घाइते भएका छन्।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्ये धेरैजसो मानिसहरू घर भत्किएर च्यापिएका छन्। अरु केहीले डुबेर र करेन्ट लागेर ज्यान गुमाएका छन्।
राजधानी इस्लामावाद नजिकैको रावलपिन्डीमा सार्वजनिक बिदा घोषणा गरिएको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई घरमै सुरक्षित बस्न र नदी किनारका क्षेत्रमा नजान आग्रह गरेको छ।
मनसुन सुरु भएयता पाकिस्तानभरि बाढी र वर्षाका कारण मृत्यु हुनेको संख्या १८० पुगेको छ। तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको जनाइएको छ। पन्जाबमा धेरै राजमार्ग र एक्सप्रेस वे बन्द छन्, उडानहरू रद्द वा ढिला भएका छन्।
पन्जाब प्रदेशकी मुख्यमन्त्री मरियम नवाजले सामाजिक सञ्जालमार्फत आपतकालको घोषणा गर्दै उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने बताएकी छिन्। उनले स्थानीय बासिन्दाहरूलाई सचेत रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरेकी छिन्।
चक्रवाल लगायतका बाढी प्रभावित सहरहरूमा सेना र उद्धार टोलीहरूले डुङ्गा र हेलिकप्टरमार्फत उद्दार कार्य गरिरहेका छन्। बाढीले मानिसहरू घरमै थुनिएका छन् र उद्धार प्रयास जारी छ।
आगामी दिनहरूमा अझै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। अधिकारीहरूले सम्भावित जोखिमलाई ध्यानमा राखेर हजारौँ उद्धारकर्मीलाई तयारी अवस्थामा राखेका छन्।
पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरूमध्ये एक हो। यहाँको २५ करोड जनसंख्या बाढी र खडेरीको दोहोरो मारमा पर्ने गरेका छन्। विशेष गरी हिमनदीहरूको पग्लाइ र चरम मौसमी परिवर्तनले अझ चुनौती थप्दै गएको छ।



