काठमाडौं, असार १९ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय व्यवस्थाप्रति कडा आलोचना गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘समाजवादी दर्शनको रूपरेखा’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसदीय व्यवस्थालाई “खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली” संग तुलना गरे।
उनले भने, इतिहासमा जनवादी क्रान्तिको क्रममा मार्क्सवादी विचारधाराको प्रचार गर्दा यस्तै उदाहरण दिइन्थ्यो, र अहिले संविधानको कार्यान्वयन र समितिका प्रतिवेदनमाथि भइरहेको चलखेल त्यसैको पुनरावृत्ति हो।
निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ जस्ता प्रावधानलाई उदाहरण दिँदै उनले व्यवहारतः संविधानमा देखाइएको लोकतान्त्रिक टाउको भित्र भने प्रतिगमनको मासु बेच्ने काम भइरहेको बताए।
दाहालले आफू सरकारमा रहँदा हरेक पटक समाजवादतर्फ लैजाने प्रयास गरेको दाबी गरे। उनले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको मुख्य कार्यभार पूरा भइसकेको र अब नेपाली समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको बताए। समाजवादको जग बसाल्न कम्युनिस्टहरूले नै अगुवाइ गर्नुपर्ने उनको भनाइ थियो।
यसअघि पनि दाहालले सरकारका नीति तथा कार्यक्रमहरूलाई वास्तविकताभन्दा टाढा रहेको भन्दै आलोचना गरेका थिए। उनले सरकारले कृषि, जलस्रोत, शिक्षा, रोजगार, संघीयता र सामाजिक न्यायजस्ता महत्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकता नदिएको आरोप लगाएका थिए। दाहालले आफ्नो नेतृत्वमा ल्याइएका विभिन्न कार्यक्रमहरू खारेज भएकोमा असन्तुष्टि व्यक्त गरेका थिए, जसमा ‘कृषिमा लगानी दशक अभियान’ र ‘एकीकृत कर्णाली सिँचाइ कार्यक्रम’ जस्ता योजनाहरू थिए। उनले गरिब तथा सीमान्तकृत समुदायका आवश्यकताहरूलाई सरकारले बेवास्ता गरेको आरोप पनि लगाएका थिए।



