काठमाडौं, असार ११ — भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी रहँदा उनी पक्षका कानुन व्यवसायीहरूको ठूलो संख्याले अदालतको ध्यान तानेको छ। नेपालको कानुनी पक्षबाट सयभन्दा बढी वकिल अदालतमा उपस्थित छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
बयान प्रक्रिया पूरा भएपछि सरकारी पक्ष र नेपालका वकिलहरूबीच औपचारिक बहस सुरु हुनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना तर्फबाट विशेष सरकारी वकिल मोहन सागर बश्यालको नेतृत्वमा सरकारी वकिलहरूको टोली तयार पारेको छ। साथसाथै, वरिष्ठ अधिवक्ता सुशील पन्तसहित केही स्वतन्त्र कानुन व्यवसायीलाई पनि आयोगले मुद्दा बहसका लागि वकालतनामा दिएको छ।



