काठमाडौं, असोज ६ — पेरुमा पनि ‘जेन-जी’ प्रदर्शन सुरु भएको छ। दक्षिण अमेरिकी देशको राजधानी लिमामा शनिबार (नेपाली समय अनुसार आइतबार) सयौँ युवा र प्रहरीले आमने-सामने भेट हुँदा झडप भएको छ। प्रदर्शनकारीहरूले ढुंगा प्रहार र लठ्ठी हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी तितर-बितर पार्न प्रयास गरेको थियो।
यो प्रदर्शन ‘जेनेरेसन जी’ युवाहरूले आयोजना गरेका हुन्। उनीहरूले संगठित अपराध, सार्वजनिक पदमा बढ्दो भ्रष्टाचार र हालै लागू भएको पेन्सन कोषसम्बन्धी कानुनी व्यवस्थाविरुद्ध आवाज उठाएका छन्। प्रदर्शनमा सहभागीहरूले देशको लोकतन्त्र कमजोर भएको र डर-त्रास तथा असुलीका कारण अवस्था बिग्रिरहेको बताएका छन्।
सहरको केन्द्रमा करिब पाँच सय युवाहरू भेला भएका थिए। प्रहरीको बाक्लो उपस्थितिमा उनीहरूले कार्यपालिका र संसद भवनतर्फ अघि बढ्न खोज्दा झडप भएको हो। झडपमा स्थानिय सञ्चारकर्मी र क्यामेराम्यान समेत घाइते भएका छन् भने प्रहरीले तीनजना अधिकारी घाइते भएको जनाएको छ।
यसै हप्ता पेरु संसद्ले विवादास्पद कानुन पारित गरेको थियो, जसमा युवाहरूलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। बेरोजगार र अस्थायी रोजगारीमा रहेका युवाहरूले यसलाई अस्वीकार गर्दै प्रदर्शनमा उत्रिएका छन्।
नेपालमा जस्तै पेरुमा पनि जेन-जी पुस्ताले सामाजिक र आर्थिक अन्यायविरुद्ध सडकमा प्रदर्शन गरी सरकारलाई चुनौती दिइरहेको देखिएको छ। अन्तर्राष्ट्रिय मिडियाहरूले नेपालपछि पेरुमा पनि जेन-जी प्रदर्शन सुरु भएको समाचार सार्वजनिक गरेका छन्।



