६ असार, काठमाडौं — प्रधानमन्त्रीसँग संसद्मा हुन लागेको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अवरोधमा नपरोस् भन्ने उद्देश्यले सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई होहल्ला नगर्न अनुरोध गरेका छन्। सभामुखले शुक्रबार बिहान संसद भवनस्थित कार्यकक्षमा बोलाएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई भेट्दै, वेल घेर्ने वा अवरोध सिर्जना नगर्न आग्रह गरेका हुन्।
सभामुखले वेल घेरेर आवाज उठाउने शैली संसद्को गरिमा विपरीत भएको टिप्पणी गर्दै, विरोध प्रकट गर्ने तरिकामा संयमता अपनाउन अनुरोध गरेका थिए। प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवाद संसदमा खुला छलफलको अवसर भएकाले त्यसलाई निष्कर्षमूलक बनाउनु सबैको दायित्व रहेको उनको भनाइ थियो। साथै, सत्तापक्ष र कांग्रेसका प्रमुख सचेतकहरूले पनि रास्वपालाई प्रश्नोत्तरको वातावरण नबिगार्न आग्रह गरेका छन्।
तर रास्वपाले भने सभामुखको आग्रहलाई अस्वीकार गर्दै आफ्नो विरोध यथावत् राख्ने जनाएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै अवरोध गर्दै आएको रास्वपाको कदमले प्रधानमन्त्रीको उपस्थितिमा हुने कार्यक्रम प्रभावित हुने संकेत देखिएको छ। प्रधानमन्त्री कार्यक्रममा सहभागी हुन बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसकेका छन्।



