काठमाडौं, असार ३२ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसम्बन्धी विवादमा सांसद सोविता गौतमले लगाएको आरोपबारे प्रतिक्रिया दिएका छन्।
गुरुङले बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै सांसद गौतमले प्रधानमन्त्रीसँगै स्पेन गएर मान्छेहरू छोडेर आएको आरोप लगाएको तर पछि संसदको बैठकमा त्यस आरोपबाट पछि हटेको उल्लेख गरे।
उनका अनुसार प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका सबै व्यक्ति फर्किएका छन् र आरोपहरू निराधार रहेको छ। तथापि, सरकारले भ्रमणका क्रममा भिजिट भिसामा गएको तर नफर्किएको मान्छेहरूको विषयमा अनुसन्धान पनि गरिरहेको छ।
गुरुङले स्पेन भ्रमणका लागि जानुपर्ने व्यक्तिको संख्या, आचारसंहितामा उल्लेख भएको हुँदा त्यसमाथि भ्रम फैलाउन नहुने र सांसदले आफूले लगाएको आरोपबाट आत्मालोचना गरिसकेको बताए।
सरकारले संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागीता जनाउन गएका केही व्यक्तिहरू सूचिबाहिर रहेको र उनीहरूको अवस्था बारे पनि अनुसन्धान भइरहेको जानकारी मन्त्री गुरुङले दिएका छन्।



