काठमाडौँ, साउन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमन्त्री रामनाथ अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीलाई रासायनिक मल आपूर्तिको व्यवस्थापन र उत्पादन वृद्धि गर्न तीन बुँदे स्पष्ट निर्देशन दिएका छन्।
सिंहदरबारमा सरोकारवालासँग भएको छलफलपछि उनीहरुलाई तीन दिनभित्र नयाँ ढाँचासहित ठोस योजना तयार गर्न भनेको हो। प्रधानमन्त्रीको सचिवालयले यस विषयमा जानकारी दिँदै योजनामा रासायनिक मलको आपूर्तिलाई चुस्त-दुरुस्त बनाउने, कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने र त्यसका लागि अनुदान नीति प्रस्ताव गर्ने कुरा समावेश भएको जनाएको छ।
साथै, माटोको उर्वरता संरक्षण गर्न सकिने खालको रासायनिक मल कारखाना नेपालमै स्थापना गर्ने विषयमा पनि अध्ययन गर्ने योजना ल्याउन निर्देशन दिइएको छ। किसानहरूले प्रायः मलको अभावको गुनासो गर्दै आएका कारण सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यक ठानेको छ।
यसअघि प्रधानमन्त्री ओलीले मलको अभाव नहोस् भन्ने सुनिश्चित गर्न सरकारले विशेष पहल गरेको उल्लेख गरेका थिए। हाल मन्त्रालयमा २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउँदै गरेको पनि जनाएका थिए। सरकारले आगामी खेतीपातीको समयमा मलको अभाव नहोस् भनी आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ।



