काठमाडौं, साउन १५ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली परम्परामा महत्वपूर्ण मानिने साउन १५ लाई अझ व्यापक रुपमा मनाउनुपर्नेमा जोड दिँदै सबै नेपालीले यस दिन खुसीका साथ खीर खान पाउनुपर्ने बताएका छन्।
एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले “खीर केवल परिकार होइन, हाम्रो संस्कृतिको मिठास हो,” भन्दै साउन १५ लाई राष्ट्रिय एकता र सांस्कृतिक गौरवको प्रतीकका रूपमा संरक्षण गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले तराई–मधेशमा सुक्खाका कारण वर्षेनी समस्या देखिएको उल्लेख गर्दै सिंचाइ प्रणालीको सुधारमा सरकार गम्भीर भएर लागेको जानकारी दिए। उनले सुनकोशी–मरिन डाइभर्सन, रानी–जमरा कुलरिया, र तमोर सिँचाइ योजनालाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको उल्लेख गरे।
कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विभाग प्रमुख रघुजी पन्तले ‘खीर खाने परम्परा’ नेपाली मौलिक संस्कृति भएकाले यसलाई जगेर्ना गर्न हरेक वर्ष विभागले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए।
यो अभिव्यक्तिले खाद्य सुरक्षा, कृषि सुधार, र सांस्कृतिक पहिचानप्रतिको सरकारको चासोलाई झल्काउँछ।



