३० जेठ, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, सत्य र न्याय सुनिश्चित गर्न प्रहरी, सरकारी वकिल तथा अन्य सरोकार निकायबीच सहकार्य, दक्षता र स्रोत–साधनको सशक्त प्रयोग अपरिहार्य छ।
शुक्रबार काठमाडौँमा सुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धान र अभियोजनले तथ्य र प्रमाणमा आधारित भएर न्याय दुविधारहित रूपमा सम्पादन गर्नुपर्ने बताए। उनले भने, “समाजमा अन्याय हुन नदिन र सामाजिक सुव्यवस्था कायम राख्न समयानुकूल कानुन निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ। त्यसका लागि योग्य, सक्षम र इमानदार जनशक्तिको आवश्यकता छ, जसका लागि सरकार प्रतिबद्ध छ।”
उनले अपराधीहरू प्राविधिक तरिकाबाट अपराध लुकाउने प्रयासमा लाग्ने भएकाले प्रहरी र अभियोजन प्रणालीलाई पनि आधुनिक प्रविधिबाट सुसज्जित र दक्ष बनाउनुपर्ने बताए। अनुसन्धान त्रुटिरहित हुनु न्याय सम्पादनको आधार हुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले प्रहरीको स्वच्छता, निष्पक्षता र पारदर्शितामाथि पनि बल दिए।
गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ता रमेश बडाल लगायत सहभागीहरूका बीच भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन प्रणालीगत सुधार र समान अवसर सुनिश्चित गर्न आग्रह गरे।
यो दुई दिने सम्मेलनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, मेडिको लिगल चिकित्सक, विधि विज्ञान प्रयोगशालाका विज्ञहरू र सरोकारवाला निकायका प्रतिनिधिहरू गरी करिब १७० जनाको सहभागिता रहेको छ। सम्मेलनको उद्देश्य फौजदारी न्याय प्रणालीका मुख्य अंगहरूको प्रभावकारिता र समन्वय बढाउनु रहेको छ।



