काठमाडौं, भदौ १९ — काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि प्रदूषण नियन्त्रणका लागि नयाँ सुझाव र चेतावनी जारी गरेको छ। प्रहरीले राति वा बिहान सबेरै छिमेकीलाई असुविधा पुग्ने गरी ध्वनि निकाल्न नहुने बताएका छन्।
सुनिश्चत गर्नुपर्ने गतिविधिहरूमा प्रहरीले लाउडस्पिकरमा संगीत नबजाउन, ठूलो आवाजमा फोनमा कुरा नगर्न र प्रेसर कुकरको सिट्ठी नबजाउन समेत अनुरोध गरेको छ। यसका साथै ठूलो स्वरमा खोक्ने, खकार्ने, घरको गेट खोल्दा वा शौचालय फ्लस गर्दा र भाँडाकुँडाहरु चलाउँदा समेत छिमेकीलाई डिस्टर्ब नपुर्याउन भनिएको छ।
ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले प्रहरीले नियम पालना गर्न जोर दिएका छन्। विशेष गरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक स्वास्थ्यमा ठूलो असर पर्न सक्ने बताइएको छ। राति पर्याप्त निद्रा नपाउँदा शरीर र मन दुवैमा समस्या देखा पर्न सक्छ।
नेपालको कानुन अनुसार, ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना लगाउन सक्ने व्यवस्था रहेको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले यस्तो गतिविधि भएमा १०० वा १०३ मा खबर गर्न पनि अनुरोध गरेको छ। यस सूचना अनुसार, अब ध्वनि प्रदूषण रोकथामका लागि घरायसी क्रियाकलापदेखि सामाजिक जमघटसम्म सबै ठाउँमा आवाज कम गर्ने नियम कडाइका साथ लागु गरिने छ।





