काठमाडौं, साउन ५ — बंगलादेशको राजधानी ढाकामा वायुसेनाको एउटा प्रशिक्षण विमान सोमबार दिउँसो कलेजको भवनमा खस्दा ठूलो दुर्घटना भएको छ। एफ-७ बीजीआई मोडलको यो लडाकु विमान डियाबारीस्थित माइलस्टोन कलेजको परिसरमा दुर्घटनाग्रस्त भएको हो।
विमान स्थानीय समय अनुसार दिउँसो १:०६ बजे उडान भरेपछाडि केही समयमै कलेज भवनमा ठोक्किएर दुर्घटना भयो। दुर्घटनापछि ठूलो आगलागी भई दमकल टोली १:२२ बजे घटनास्थल पुगेर निभाउने कार्यमा जुटेको थिए।
ढाका महानगर प्रहरी र बंगलादेश सैन्य जनसम्पर्क कार्यालयले दुर्घटनाको पुष्टि गरेका छन्। हादसामा कम्तीमा एक जना घाइतेको मृत्यु भएको छ भने करिब १३ विद्यार्थी घाइते भएका छन्।
धेरैजसो विद्यार्थीहरू दुर्घटना बेला कलेजको बाहिरी भागमा रहेको बताइन्छ। टेलिभिजन फुटेजहरूमा दुर्घटनापछि बाक्लो धुवाँ र आगोको मुस्लो कलेज परिसरबाट माथि उडिरहेको दृश्य देखिन्छ।
विमानका चालकले दुर्घटनाअघि सुरक्षित रूपमा बाहिरिन सके कि सकेनन् भन्ने विषय भने अझै स्पष्ट भएको छैन। कलेजका एक निर्देशकका अनुसार विमान अचानक भवनमा ठोक्किएपछि विद्यार्थीहरू त्रसित भई भागेका थिए।
उद्धार र उपचार जारी रहेका छन् भने घटना सम्बन्धी थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिनेछ।



