काठमाडौं, २४ असार — प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एक उच्चस्तरीय टोली रसुवाको बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि प्रस्थान गर्ने भएको छ। सोमबार राति आएको बाढी र पहिरोका कारण भएको क्षतिको मूल्यांकन गर्न प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि प्रभावित क्षेत्रमा जाने तयारीमा छन्।
गृहमन्त्री लेखकले रसुवामा ठूलो प्राकृतिक विपद् आएको बताउँदै घटनास्थलमै पुगेर प्रत्यक्ष रुपमा अवस्था अवलोकन गरेपछि आवश्यक निर्णय लिने जानकारी दिएका छन्। साथै, सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरू पनि सो टोलीमा सहभागी हुनेछन्।
सरकारको टोलीको यो अवलोकन भ्रमणले तत्कालीन राहत तथा पुनःस्थापनासम्बन्धी निर्णयहरू गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।



