काठमाडौं, भदौ १६ — काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा दोस्रोपटक सुनुवाइ हुने भएको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो। यसअघि अदालतले नर्भिक अस्पतालको संरचना भत्काउन रोक लगाउने अन्तरिम आदेश जारी गरेको थियो। तर उक्त आदेशलाई बेवास्ता गर्दै शाहले “अब नक्सा पासको काम पनि सर्वोच्च अदालतले नै गर्न देऊ” भन्ने अभिव्यक्ति दिएका थिए।
यही अभिव्यक्तिलाई आधार मानेर अधिवक्ता दीपकराज जोशीले अदालतको अवहेलनासम्बन्धी रिट दायर गरेका हुन्। सोही मुद्दामा शाहविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।
यसअघि पहिलो सुनुवाइमा अदालतले दुवै पक्षलाई बुझाइ पेश गर्न समय दिएको थियो। अब दोस्रो सुनुवाइमा अदालतले के निर्णय लिन्छ भन्ने कुरातर्फ सबैको ध्यान केन्द्रित भएको छ।



