काठमाडौं, साउन २० — भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार दिउँसो बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ। खीर गंगा नदीको जलस्तर बढेसँगै धराली भन्ने ठाउँमा भारी बाढी आएको स्थानीय अधिकारीहरूले बताएका छन्।
यस घटनाले त्यहाँका होटल, होमस्टे, बजार र आवासीय क्षेत्रमा व्यापक विनाश ल्याएको छ। केही घरहरू बगाइएको र धेरै मानिसहरू सम्पर्कविहीन रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार अहिलेसम्म चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने, उद्धारकार्य जारी छ। अझै करिब ६० देखि ७० जना मानिस सम्पर्कबिहीन रहेको बताइएको छ।
प्रहरी र उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्य तीव्रता दिएका छन्, तर स्थलको कठिन भौगोलिक अवस्थाका कारण काममा केही चुनौतीहरू रहेको अधिकारीहरूले बताएका छन्।
बाढी–पहिरोका कारण पर्ने क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने अनुमान गरिएको छ। स्थानीय बासिन्दाहरू र प्रशासन अहिले उद्धार तथा पुनःस्थापनामा जुटेका छन्।
यस घटनाले उत्तराखण्डमा बर्षाकालीन मौसमका कारण सुरक्षा सतर्कता बढाउनु आवश्यक रहेको पुनः स्मरण गराएको छ।



