काठमाडौं, जेठ १९ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो १० दिनमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काएको छ। गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईमाथि भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको हो।
सबैभन्दा धेरै यूएई जान खोज्ने ४३७ जनालाई विमानस्थलबाट फर्काइएको छ भने अन्यमा ओमान, कतार, कम्बोडिया र मलेसिया जान खोज्नेहरू पनि छन्।
भिजिट भिसामा विदेश जानका लागि नयाँ नियमहरू लागू गरिएको छ जसअनुसार कम्तीमा ६ महिनाको अवधि भएको पासपोर्ट, दुईतर्फी टिकट, भिसा, भ्रमण अवधिभर बस्ने होटल बुकिङ वा सम्बन्धित प्रमाणपत्रहरू आवश्यक पर्ने व्यवस्था छ। यी मध्ये कुनै पनि कागजात नपुगेमा यात्रा अनुमति दिइँदैन।
यस प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ भने गृहमन्त्री रमेश लेखकको सचिवालयका सदस्यहरू पनि मुछिएका छन्। भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुने गरेको विषय विगतदेखि नै सार्वजनिक हुँदै आएको छ।
यसै कारणले अध्यागमन विभागले कडाइ गर्दै आएको र विमानस्थलबाट धेरैलाई फर्काउने काम भइरहेको छ। यो कदमले भिजिट भिसा प्रकरणमा अनियमितता र मानव तस्करी रोकथाममा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



