२६ जेठ, काठमाडौं – भिजिट भिसासम्बन्धी अनियमितता प्रकरणमा छानबिनको प्रतिवद्धतासँगै नेकपा माओवादी केन्द्र संसद्को अवरोध हटाउन सहमत भएको छ। सत्तारूढ गठबन्धनभित्र जारी छलफलमा माओवादीले छानबिन प्रक्रिया सुनिश्चित हुने अवस्थामा अवरोध हटाउने संकेत दिएको हो।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, संसद् सञ्चालनका लागि उनीहरूले प्रमुख सर्तको रूपमा छानबिनको विश्वासिलो आधार खोजिरहेका छन्। “छलफल जारी छ, हामी छानबिन सुनिश्चित गरिनुपर्ने पक्षमा छौं,” पाण्डेले बताएका छन्।
सुरुमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गरेको माओवादी केन्द्र अन्ततः अख्तियारद्वारा सुरु गरिएको अनुसन्धानपछि सो प्रकरणमा थप संयन्त्र गठन गरेर विस्तृत छानबिन गर्न सकिने सहमतिमा पुगेको हो।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच भएको छलफलपछि अख्तियारको प्रारम्भिक अनुसन्धानपछि २०६४ साल यता भिजिट भिसाका नाममा भएका अनियमितताहरूको विस्तृत अध्ययन र छानबिन गर्न छुट्टै समिति बनाउने प्रस्ताव अघि सारिएको छ। माओवादीले यस प्रस्तावलाई समर्थन गरेको छ।
यद्यपि, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अझैसम्म सहमत भइसकेको छैन। कांग्रेस नेताहरूले रास्वपालाई सहमत गराउन छलफल जारी राखेका छन्।



