माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘भिजिट भिसा’ सम्बन्धी समस्या हालको मात्र नभई विगतदेखि निरन्तर रहँदै आएको बताएका छन्। उनले उक्त समस्या वि.सं. २०६४ तिरदेखि सुरु भएको उल्लेख गर्दै त्यसको जडसम्म पुगेर समाधान खोज्नुपर्ने धारणा राखे।
चितवनस्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले, यो समस्या समाधानका लागि केवल बयानभन्दा बढी व्यवहारिक छानबिन र नीतिगत सुधार आवश्यक रहेको बताए। साथै उनले यस विषयलाई राजनीतिक रूपमा बेवास्ता नगर्ने स्पष्ट संकेत दिए।
उनले वर्तमान संसद् अवरोधबारे पनि धारणा राख्दै प्रतिपक्षी दल भए पनि राष्ट्रहितका कार्यमा सत्तापक्षजस्तै जिम्मेवारी निर्वाह गर्नुपर्ने बाध्यता रहेको बताए। संविधान, ऐनकानुन, संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन लगायतका विषयमा पहल गर्नुपर्ने जिम्मेवारीबोधसहित संसद् अवरोध खुलाउने सहमति भएको दाहालले जानकारी दिए।
उनका अनुसार ३० दिनभित्र छानबिन समिति गठन गर्ने सहमतिसहित संसद् पुनः सञ्चालनमा आएको हो। ‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने दायित्व अझै बाँकी छन्,’ भन्दै उनले राष्ट्रिय राजनीतिमा सहकार्य र समाधानको आवश्यकता औंल्याए।



