काठमाडौं, भदौ ७ — भोजपुरमा अकबरे खुर्सानीमा रोगको समस्या बढ्दै गएको छ, जसले यहाँका किसानको उत्पादन र आम्दानीमा नकारात्मक असर पारिरहेको छ। फलमा डढुवा, किरा प्रकोप, बोट सुक्ने र फल झर्ने समस्या देखा परेपछि धेरै किसान आफ्नो खुर्सानी बगान उखाली नष्ट गर्न बाध्य भएका छन्।
भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले करिब दुई रोपनीमा लगाएको खुर्सानी बोट रोगले सखाप भएपछि नयाँ बाली लगाउनुपर्ने अवस्था आएको बताए। उनका अनुसार एउटै बोटमा विभिन्न प्रकारका रोग देखिनु र त्यसको छिटो फैलावटले किसानलाई चिन्तित बनाएको छ।
स्थानीय कृषक गीता विष्टले पनि बारीका प्रायः सबै खुर्सानी बोटमा रोग देखा परेको र बजार पठाउन सकिने अवस्थाको खुर्सानीमा क्षति पुगेको बताइन्। डढुवा लाग्ने रोगले सबैभन्दा बढी क्षति पुर्याएको छ भने बोटका डाँठ कुहिने, पात पहेँलो हुने र अन्य रोगको मिश्रणले उत्पादन घट्ने खतरा बढाएको छ।
किसानहरूको अनुभव अनुसार, एउटा बोटमा देखा परेको रोग केही दिनमै अन्य बोटमा फैलिने गर्दछ। यस वर्ष करिब एक हजार ५०० बोट खुर्सानी लगाइएकोमा आधाभन्दा बढी बोट पूर्ण रूपमा नष्ट भएको छ।
पछिल्ला वर्षहरूमा भोजपुरमा खुर्सानी खेती व्यावसायिक रूपमा बढ्दै गएको भए पनि रोग–किराको जोखिमले किसानको आम्दानीमा चुनौती थपेको छ। यस परिस्थितिले किसानलाई थप सावधानी अपनाउन र रोग नियन्त्रणका उपाय अवलम्बन गर्न प्रेरित गरेको छ।



