काठमाडौं, साउन १८ — बाल प्रतिभालाई उजागर गर्ने टिभी रियालिटी शो ‘भ्वाइस किड्स नेपाल’ को चौथो सिजन निर्णायक चरणमा प्रवेश गरेको छ। प्रतियोगिताले अन्तिम आठ प्रतियोगी (फाइनलिस्ट) चयन गरेको छ, जो अब उपाधिका लागि भिड्दैछन्।
प्रतियोगितामा सहभागी चारजना कोचहरूमध्ये प्रत्येक समूहबाट दुई-दुई जना गरी आठ फाइनलिस्ट छानिएका हुन्। अब तीमध्ये एकले ‘भ्वाइस किड्स’ सिजन ४ को उपाधि जित्नेछन्, जसका लागि शनिबार राति ८ बजेसम्म भोटिङ खुला रहनेछ।
कोचहरूको टोली अनुसार फाइनलिस्ट सूची यस्तो छ:
- कोच खेम सेन्चुरी: दिलिजा रुवाली, आदर्श धिताल
- कोच मेलिना राई: सोनाली राजभण्डारी, नोरेन लोय क्षेत्री
- कोच सत्यराज आचार्य: रिदम खड्का, स्मयन बजगाइँ
- कोच मिलन नेवार: आयन राई, निश्चल लिम्बु
भोटिङका आधारमा विजेता घोषणा गरिने फिनाले एपिसोड आगामी शनिबार प्रसारण हुनेछ। यसअघि शुक्रबार ‘रोड टु फिनाले’ एपिसोड प्रस्तुत गरिनेछ, जसमा प्रतिस्पर्धीहरूले अन्तिम प्रस्तुति दिँदै दर्शकबाट समर्थन माग्नेछन्।
कार्यक्रमले देशभरका प्रतिभाशाली बालबालिकालाई राष्ट्रिय स्तरमा चिनाउने र उनीहरूलाई साङ्गीतिक भविष्य निर्माणतर्फ उन्मुख गराउने महत्वपूर्ण अवसर प्रदान गरेको छ।



