काठमाडौं, भदौ २६ — मकवानपुरबाट विभिन्न कारागार र बाल सुधार गृहबाट भागेका १६६ जना कैदीबन्दी पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको फाइदा उठाउँदै उनीहरु फरार भएका थिए।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त प्रयासमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार भीमफेदी कारागारबाट ४४० जना कैदीबन्दी मध्ये ७८ जना पक्राउ परेका छन् भने ३६२ अझै फरार छन्। त्यस्तै, मकवानपुरस्थित बाल सुधार गृहबाट ७२ मध्ये ४१ जना नियन्त्रणमा लिइएका छन्।
नख्खु र जगन्नाथदेवल कारागारका केही फरार कैदीबन्दी पनि मकवानपुरबाट पक्राउ परेका छन्। फरार अन्य कैदीबन्दीको खोजी कार्य जारी छ।



