काठमाडौं, साउन २ — मधेश प्रदेशका आठ जिल्लामा परेको अत्यधिक सुख्खाका कारण धान रोपाइँ प्रभावित भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययनका लागि प्राविधिक टोली खटाउने निर्णय गरेको छ।
कृषि मन्त्री रामनाथ अधिकारीले शुक्रबार मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै उक्त टोलीलाई तत्कालै परिचालन गर्न निर्देशन दिए। टोलीले आइतबारदेखि सम्बन्धित क्षेत्रमा पुगेर समस्या र समाधानका उपायबारे अध्ययन गर्नेछ।
यस टोलीले तत्कालीन र दीर्घकालीन समाधानका उपायहरू खोज्नेछ। सिँचाइका संरचनाहरूलाई अधिकतम उपयोग गर्ने र वैकल्पिक सिँचाइ उपायबारे पनि छलफल गरिने बताइएको छ।
मधेश प्रदेश सरकारले केही दिनअघि सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। अहिले सम्म त्यहाँ झन्डै ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। बाँकी रोपाइँ समयमै सम्पन्न गर्न थप समाधान उपायहरू खोजिने मन्त्रालयले जनाएको छ।



