काठमाडौँ, असार २८ — काठमाडौँका मनोरञ्जन व्यवसायीहरू हालै सङ्गठित भएका छन् र गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। यो समिति रात्रिकालीन मनोरञ्जन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले गठन गरिएको हो।
समितिमा वरिष्ठ उपाध्यक्ष दिनेश थापा, उपाध्यक्षहरू सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं, राजकुमार कार्की लगायतका सदस्यहरू रहेका छन्। महासचिवको जिम्मेवारी सगुन अधिकारीले सम्हालेका छन् भने अन्य पदाधिकारीहरू समेत सर्वसम्मत रूपमा चयन भएका छन्।
हालै जडीबुटीमा सम्पन्न भेलामा रक्षामन्त्री मानवीर राई प्रमुख अतिथि थिए। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङ पनि उपस्थित थिए। व्यवसायीहरूले प्रहरीबाट हुने अनावश्यक दबाब र रात्रिकालीन व्यवसायमा आउने समस्याहरूलाई व्यवस्थित गर्न आग्रह गरेका छन्। साथै, कलाकारहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने माग पनि उठाइएको छ।
व्यवसायीहरूले ठमेल र दरबारमार्ग जस्ता क्षेत्र मात्र होइन, सम्पूर्ण काठमाडौँलाई २४ घण्टा सञ्चालनमा राख्न माग गरेका छन्। अध्यक्ष उमा श्रेष्ठले मनोरञ्जन क्षेत्रलाई समाज परिवर्तनको शक्तिशाली माध्यम, रोजगारको ठूलो स्रोत र पर्यटन विकासको मेरुदण्डको रूपमा व्याख्या गर्दै काठमाडौँलाई २४ घण्टा खुला राख्नुपर्ने जोड दिइन्।
उमा श्रेष्ठले मनोरञ्जन क्षेत्रलाई आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भन्दै राज्यबाट औपचारिक मान्यता माग गरिन्। कार्यक्रममा बागमती प्रदेशका सांसद युवराज दुलाललगायत व्यवसायी तथा कलाकारहरूले पनि धारणा राखे।
नवगठित महासचिव सगुन अधिकारीले संस्था देशव्यापी रूपमा विस्तार गरिने लक्ष्य राखिएको जानकारी दिए।
यो पहलले काठमाडौँको रात्रिकालीन अर्थतन्त्र, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र सांस्कृतिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।



