काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले चिनियाँ राजदूत चेन सोङसँग भेटेर नेपाल–चीनबीचको विभिन्न पूर्वाधार परियोजना अघि बढाउन सहयोगको आग्रह गरेका छन्। शिष्टाचार भेटवार्तामा मन्त्री घिसिङले चिनियाँ ठेकेदारले लिएका केही आयोजनाको निर्माण सन्तोषजनक नरहेको बताए र आवश्यक सहजीकरणका लागि माग गरेका हुन्।
भेटमा काठमाडौँ–कोदारी (अरनिको) र स्याप्रुबेँसी–रसुवागढी सडक जस्ता संवेदनशील सडक मर्मत तथा सञ्चालनमा चिनियाँ प्रविधि र सहयोगको माग गरिएको थियो। त्यसैगरी काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरका निर्माणाधीन जलविद्युत आयोजनाहरू अघि बढाउन र नेपाल–भारत विद्युत प्रसारण लाइन विस्तारको पहल गर्न मन्त्री घिसिङले आग्रह गरेका थिए।
त्यस्तै, कमला–कञ्चनपुर आयोजनाको निर्माणमा चिनियाँ कम्पनीको प्रदर्शन सन्तोषजनक नभएको जानकारी दिँदै नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारको काम तीव्र बनाइदिन राजदूतसँग आग्रह गरिएको थियो। चिनियाँ राजदूत सोङले नेपालका प्राथमिकताअनुसार सहयोग गर्न चीन तयार रहेको जवाफ दिएका छन्।
भेटमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक बिजय जैशी र परराष्ट्र मन्त्रालय उत्तरपूर्व एसिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका अधिकारीहरू उपस्थित थिए।



