काठमाडौं, भदौ २७ — रूसले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सञ्चालन हुने पहिलो विद्युतीय नगर रेल सेवा मस्कोमा औपचारिक रूपमा सुरु गरेको छ। यसले रूसी सार्वजनिक यातायात क्षेत्रमा नयाँ युगको सुरुवात भएको जनाइएको छ।
स्वचालित रेलले स्टेसनमा निर्धारित स्थानमा रोकिने, ढोका खोल्ने-बन्द गर्ने, ट्राफिक सङ्केतको पालना गर्ने र पैदल यात्रीलाई प्राथमिकता दिने काम स्वतः गर्न सक्छ। सन् २०२४ मेदेखि गरिएको परीक्षण अवधिमा यस रेलले करिब आठ हजार किलोमिटर दूरी कुनै नियम उल्लङ्घन नगरी पूरा गरिसकेको छ।
रूसी राजधानीले सन् २०३० सम्ममा ३०० भन्दा बढी रेलहरूलाई एआई प्रविधिले सुसज्जित गर्ने योजना बनाएको छ भने सन् २०३५ सम्म ९० प्रतिशत नगर रेल पूर्ण स्वचालित हुने लक्ष्य राखिएको छ। हाललाई सुरक्षा र भाडा व्यवस्थापनका लागि रेलमा एक जना अपरेटर रहने व्यवस्था गरिएको छ, तर ड्राइभिङ पूर्ण रूपमा एआई प्रणालीले गर्नेछ।
सन् २०२५ को अन्त्यसम्म मस्कोमा नियमित सेवामा तीन स्वचालित रेल सञ्चालनमा ल्याइनेछ भने २०२६ सम्म संख्या १५ पुर्याइनेछ। यससँगै स्वचालित मेट्रो सेवाको परीक्षण पनि २०२५ डिसेम्बरमा सुरु गरिनेछ र २०२६ मा यात्रुका लागि खुला गर्ने तयारी छ।
यो पहलले वातावरणमैत्री र दक्ष यातायात प्रणाली निर्माण गर्ने मस्कोको लक्ष्यलाई बलियो बनाएको छ। शहरले यसलाई दिगो शहरी गतिशीलता र स्मार्ट यातायात समाधानतर्फको ठूलो कदमका रूपमा व्याख्या गरेको छ।



