काठमाडौं, भदौ १४ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई परिवारको मात्रै हिस्सा नभई समाज परिवर्तनको आधारको रूपमा हेर्नुपर्ने बताएकी छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ मा उद्घाटन भाषण दिँदै उनले महिलाको योगदान अझै अपेक्षित सम्मान पाएको नभएको औँल्याइन्।
भण्डारीले भनिन्, “अब हामीले महिलाहरू पनि नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न पूर्णरूपमा सक्षम छन् भन्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ।” उनले वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्दै आएको उल्लेख गर्दै यसलाई सिंगो देशको अर्थतन्त्रलाई मजबुत बनाउने उदाहरणको रूपमा प्रस्तुत गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन दिनुपर्नेमा जोड दिँदै अगामी पुस्तालाई प्रेरणा दिनेगरी समाजमा लैंगिक समानता र पूर्वाग्रह हटाउन महिलाले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्। उनले महिलालाई आत्मविश्वासी बन्न, सकारात्मक चुनौती दिन र परिवर्तनको नेतृत्व लिन आग्रह गरिन्।
कार्यक्रममा पर्सा, बारामा उद्योग, व्यापार, शिक्षा तथा सामाजिक कार्यमा सक्रिय महिलाहरूलाई सम्मान गरिएको थियो।



