काठमाडौं, असार १२ — नेपालमा माल्दिभ्सका विद्यार्थीले मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्झौता अन्तिम तयारीमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो विषयमा माल्दिभ्ससँग भइरहेको वार्ता सकारात्मक निष्कर्षतर्फ उन्मुख भएको जानकारी दिएका छन्।
हालै बैंककमा संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच मेडिकल शिक्षासम्बन्धी सहकार्यबारे छलफल भएको हो।
मन्त्री पौडेलका अनुसार एमबीबीएस, एमडी र एमएस तहका लागि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा अध्ययन गर्ने छुट्टै कोटा व्यवस्थापनबारे परामर्श भइरहेको छ। उक्त सम्झौताले नेपालका मेडिकल शिक्षालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको सम्भावना बढाउने विश्वास गरिएको छ।
यसका लागि माल्दिभ्सले पठाएको मस्यौदामा आवश्यक संशोधन गर्दै स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। सम्झौता चाँडै औपचारिक रूप दिने लक्ष्यसहित गृहकार्य तीव्र पारिएको छ।
भेटवार्ताका क्रममा मन्त्री पौडेलले माल्दिभ्समा कार्यरत नेपाली कामदारहरूले भोगिरहेका वित्तीय समस्या र रेमिट्यान्स पठाउन देखिएको कठिनाइबारे पनि जानकारी गराएका थिए। जवाफमा माल्दिभ्सका प्रतिनिधिले उक्त विषयमा आफ्नो अर्थ मन्त्रालयमार्फत समाधान खोजिने आश्वासन दिएका छन्।
यसअघि इन्डोनेसिया र जेनेभामा समेत माल्दिभ्ससँग भएका छलफलहरूको निरन्तरताका रूपमा यो पहल लिइएको हो। मन्त्री पौडेलले विदेशी विद्यार्थीका लागि नेपालमा चिकित्सा शिक्षा उपलब्ध गराउन विशेष सुझावसहितको कार्यदलसमेत गठन गरिसकेका छन्।
नेपालले यसरी स्वास्थ्य शिक्षामा अन्तर्राष्ट्रिय साझेदारी बढाउँदै जानुले दीर्घकालीन रूपमा चिकित्सा शिक्षा क्षेत्रको गुणस्तर, पहुँच र वैदेशिक सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।



