काठमाडौं, असार ११ — फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ चरणमा लियोनल मेसीले आफ्नो पूर्वक्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध मैदानमा उत्रिने भएका छन्। सन् २०२३ मा युरोपेली च्याम्पियन पीएसजी छाडेर मेसी अमेरिकी क्लब इन्टर मियामीमा पुगेका थिए। अब उनी आफ्नो पूरानो क्लबविरुद्ध निर्णायक चरणको भिडन्तमा खेल्ने छन्, जसले विशेष चासो बटुलेको छ।
यसै प्रतियोगितामा अर्को रोचक खेल दुई ब्राजिली क्लब पाल्मेरिया र बोटाफोगोबीच हुनेछ। ती दुवै क्लब नकआउट चरणमा पुगेका हुन्।
पीएसजीले आफ्नो पछिल्लो खेलमा अमेरिकी क्लब सियाटल सन्डर्सलाई २–० ले हराउँदै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको हो। क्लबको जितमा ख्विचा क्वारत्सखेलिया र अचरफ हकिमीले गोल गरेका थिए। क्वारत्सखेलियाले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने हकिमीले दोस्रो हाफमा गोल थपेर जित सुनिश्चित गरेका थिए।
बोटाफोगो यसअघिको खेलमा पीएसजीसँगको जितका कारण नै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो। समूहको समीकरणका आधारमा पीएसजीलाई अन्तिम चरण पुग्न सियाटलमाथि जित आवश्यक थियो, जुन उनीहरूले हासिल गरे।
पीएसजीका प्रशिक्षक लुइस एनरिकेले जितपछि प्रतिक्रिया दिँदै क्लबको अभियान अब मात्रै गम्भीर रूपमा सुरु भएको बताएका छन्। उनले भने, “हामीले राम्रो सुरुआत गरेका छौं, तर अबको यात्रा अझ कठिन हुनेछ। अब हरेक खेल रणनीतिक रूपमा ध्यान दिएर खेल्नुपर्नेछ।”
अब फ्यानहरूका लागि इन्टर मियामी र पीएसजीबीचको खेल विशेष आकर्षणको केन्द्र बन्ने पक्का छ, जहाँ मेसी आफ्नो पुरानो टोलीविरुद्ध मैदानमा देखिनेछन्।



