काठमाडौं, जेठ २० – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको ‘म झोले हो’ अभियानको प्रतिक्रियामा सामाजिक सञ्जालमा ‘म झोले होइन’ अभियान पनि सुरु भएको छ। ओलीले आफ्नो तस्बिरसहित “म झोले हो” भन्ने सन्देश दिँदै सामाजिक सञ्जालमा पोष्टर सार्वजनिक गरेपछि यो ट्रेन्ड एकाएक फैलिएर एमाले नेतादेखि कार्यकर्ता र समर्थकहरूसम्म पुगेको थियो। त्यसपछि धेरैले त्यस्तै डिजाइनको पोस्टर प्रयोग गर्दै आफूलाई एमालेको ‘झोले’ समर्थक भनेर चिनाउन थाले।
तर, अभियान चलिरहँदा एमालेभित्रैका केही नेताहरू र समर्थकहरूले यसलाई उपयुक्त नभएको भन्दै आलोचना गरेका छन्। उनीहरूको तर्क छ — ‘झोले’ शब्द आफैंमा व्यंग्यात्मक छ, र यसले कार्यकर्ताको गरिमा घटाउँछ।
पूर्वमन्त्री तथा सांसद गोकुल बास्कोटाले आफू केवल झोले होइन, सिद्धान्तप्रति समर्पित कार्यकर्ता भएको स्पष्ट पारेका छन्। सांसद चन्द्र गुरुङ, सरोज बोहरा लगायतले आफू एमालेको कार्यकर्ता मात्र भएको स्पष्ट पारेका छन्। अर्का नेताहरूले पनि पार्टीप्रतिको समर्थनलाई अन्धभक्त शैलीमा प्रस्तुत गर्नु नपर्ने धारणा व्यक्त गरेका छन्।
यता, केही राजावादी वा अन्य धारका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि ‘झोले’ शब्दलाई अस्वीकार गर्दै आफू स्वतन्त्र नागरिक भएको सन्देश दिइरहेका छन्। यसरी, प्रारम्भमा एमालेभित्र नेताप्रतिको समर्थन प्रदर्शन गर्न सुरु गरिएको यो अभियान अहिले आफ्नै घेराभित्र बहसको विषय बनेको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, “नेताप्रतिको समर्थन आवश्यक भए पनि त्यो विवेकपूर्ण र वैचारिक आधारमा हुनु राम्रो हो। ‘झोले’ शैलीको अन्धसमर्थनले पार्टीको छविमा दीर्घकालीन असर पर्न सक्छ।”



