काठमाडौं, असार १७ — राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय तहको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन-२०८२ काठमाडौंमा सम्पन्न भएको छ। विभिन्न प्रदेशमा सम्पन्न सम्मेलनपछि केन्द्रीय तहमा गरिएको यस कार्यक्रममा ३५० भन्दा बढी युवा उद्यमीहरू सहभागी थिए।
सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए। उनले युवामा रहेको उद्यमी सोच, ज्ञान, सीप र अनुभवलाई सदुपयोग गरी राष्ट्रनिर्माणमा योगदान पुर्याउनुपर्नेमा जोड दिए। जलविद्युत्, पर्यटन र जडिबुटीजस्ता क्षेत्रहरूमा युवालाई उद्यमशीलतामार्फत प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सिप, उद्यमशीलता र रोजगारीलाई एकसाथ अघि बढाउनुपर्ने बताए। उनले सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन दशक मनाउने योजना रहेको जानकारी दिए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रालयले युवालाई ५ लाखदेखि २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराउन थालेको बताए। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आयातमा निर्भर अर्थतन्त्रलाई निर्यातमुखी बनाउन उद्यमशीलता प्रवर्द्धन आवश्यक रहेको बताए।
सम्मेलनमा ‘समृद्धिका साझा सवाल’ विषयक प्यानल सत्रमा सांसदहरू पदम गिरी, उदयशमशेर राणा, माधव सापकोटा र सोविता गौतमले उद्यमशीलताको महत्वबारे विचार व्यक्त गरे। ‘युवाका लागि अबको निकास : रोजगारी, उद्यमशीलता र सिप विकास’ विषयक प्यानल छलफलमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स अनिल केसरी शाहले युवा उद्यमशीलता प्रवर्द्धनका उपायहरूमा चर्चा गरे।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तीनै तहका सरकारबाट सञ्चालित युवा लक्षित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए। सम्मेलनले स्टार्टअप, सहुलियत कर्जा र वित्तीय पहुँच अभिवृद्धि जस्ता बहुआयामिक विषयहरूमा छलफल गर्दै युवा उद्यमशीलता प्रवर्द्धनमा नयाँ मार्ग प्रशस्त गरेको छ।



