१४ असार, काठमाडौं — प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकप्रति कडा आपत्ति जनाउँदै चेतावनीपूर्ण भाषण दिएकी छन्। उनले भिजिट भिसाका नाममा भइरहेको आर्थिक अनियमितता र नेपाली नागरिकमाथिको शोषणबारे गम्भीर प्रश्न उठाइन्।
कार्कीले गृहमन्त्री लेखकमाथि मानव तस्करीसँग जोडिएको भ्रष्टाचारमा संलग्न रहँदै आफूलाई जोगाउन खोजेको आरोप लगाउँदै भनिन्, “उहाँले यस्तो समिति बनाउनु भयो, जसले उहाँलाई पनि जोगाउँछ र कमाइ पनि जोगिन्छ।”
सांसद कार्कीले गृहमन्त्रीको शैलीप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, “मैले त उहाँलाई सोझो मानें, तर उहाँ त निकै चतुर पो रहेछन्।” उनले आरोप लगाइन् कि भिजिट भिसाका नाममा दिनहुँ ५० लाखदेखि एक करोडसम्म असुली भइरहेको छ र यो क्रमशः “जनतालाई बेच्ने” प्रक्रियाजस्तै देखिएको छ।
उनले गृहमन्त्रीलाई चेतावनी दिँदै भनिन्, “धेरै फुर्ती नदेखाउनुस् गृहमन्त्रीज्यू, समय बदलिन्छ। एक दिन ओल्लो छेउबाट पल्लो छेउ आउनुपर्ने हुन सक्छ।”
अन्त्यमा, उनले गृहमन्त्रीको राजीनामाको माग गर्दै सरकारको नैतिक जिम्मेवारी उठाउँदै संसदमा दबाब सिर्जना गरिन्।



