काठमाडौं, ३० असार — चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ मा निर्देशक मीनबहादुर भामको फिल्म शाम्बाला ले उत्कृष्ट चलचित्रको उपाधि जितेको छ। सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विजेताहरुलाई सम्मानित गरे।
शाम्बाला ले उत्कृष्ट चलचित्र मात्र होइन, उत्कृष्ट निर्देशकको विधामा पनि सफलता हात पार्यो, जसअन्तर्गत मीनबहादुर भामले निर्देशनतर्फको पुरस्कार प्राप्त गरे।
पुरस्कार समारोहमा अन्य विधागत विजेता यस प्रकार छन्:
- उत्कृष्ट अभिनेता: विजय बराल – पूर्णबहादुरको सारंगी
- उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी – खुस्मा
- उत्कृष्ट पटकथा: दीपकराज गिरी – छक्का पञ्जा ५
- उत्कृष्ट छायांकन: पुरुषोत्तम प्रधान – पीताम्बर
- आदिवासी चलचित्र: लगायबन (नेवारी फिल्म)
- जुरी अवार्ड: पुजार सार्की – निर्देशक दिनेश राउत
सबै विधामा विजेताहरूलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको हो।
यसै समारोहमा वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मानस्वरूप ३ लाख ७५ हजार रुपैयाँसहित सम्मानित गरियो।
चलचित्र क्षेत्रको विकासमा योगदान दिने सिर्जनात्मक र प्राविधिक पक्षलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार वर्षेनी प्रदान गरिँदै आएको छ।



