काठमाडौं, भदौ २६ — नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपतिलाई संविधानको मर्मअनुसार सार्थक संवाद सुरु गर्न आग्रह गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका महत्वपूर्ण विषयलाई सम्बोधन गर्न आवश्यक भएको औँल्याइएको छ।
एमालेले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडमा आफ्नो पार्टीको कुनै संलग्नता नहुने दाबी गर्दै, यी घटनाका योजनाकार र दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। त्यस्तै, राज्यका सुरक्षा निकायहरूले प्रभावकारी भूमिका खेल्न नसकेको विषयमा पनि समीक्षा हुनुपर्नेमा जोड दिएको छ।
पार्टीले स्थानीय तहले निर्वाध रूपमा सेवाप्रवाह गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने र मुलुकमा यथाशीघ्र संविधानसम्मत राजनीतिक निकासका लागि सबै पक्षसँग संवाद आवश्यक रहेको बताएको छ।



