काठमाडौं, २६ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिबाट संवैधानिक सीमाभित्रै निकास निकाल्ने प्रयास गरिरहेको बताएका छन्। राष्ट्रपति शीतल निवासबाट जारी गरेको वक्तव्यमा उनले देशमा लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर प्रयास भइरहेको जानकारी दिएका छन्।
उनले भने, “देशको अहिलेको विषम परिस्थितिमा संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा म विचार विमर्श एवं प्रयासरत छु।”
जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि राष्ट्रपति पौडेल शीतल निवासबाट नेपाली सेनाको सहयोगमा बाहिर आएका थिए। यसयता उनी सार्वजनिक रूपमा भर्चुअल माध्यमबाट देखिएका छैनन्।
राष्ट्रपतिले सबै पक्षलाई संयमित हुन र आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न सहयोग गर्न अपिल गरेका छन्। उनले विश्वास दिलाएका छन् कि समस्याको समाधानको खोजी भइरहेको छ र मुलुकमा शान्ति–सुव्यवस्था कायम राख्न सबैले सहयोग गर्नु आवश्यक रहेको छ।




