काठमाडौं, असोज १ – राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को पूरक (मौका) परीक्षा नयाँ तालिकाअनुसार असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ मा परीक्षा सञ्चालन गर्ने भनिएको थियो, तर देशको अवस्था र सुरक्षासम्बन्धी कारण देखाउँदै तालिका संशोधन गरिएको हो।
नयाँ तालिका अनुसार असोज ७ गते शनिबार अनिवार्य अङ्ग्रेजी (कोड ००४१) विषयको परीक्षा हुनेछ। साथै, दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीका लागि सानो कोड नम्बर भएको विषय पनि सोही दिन हुनेछ। त्यसैगरी असोज ८ गते आइतबार ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। यस दिन पनि केही परीक्षार्थीका लागि अनिवार्य अङ्ग्रेजी विषय राखिएको बोर्डले जनाएको छ।
बोर्डले परीक्षा केन्द्र पहिल्यै तोकेको र आवश्यक तयारी पूरा भइसकेको जानकारी दिएको छ। विद्यार्थीहरूले आफ्नो प्रवेशपत्र र केन्द्रसम्बन्धी विवरण सम्बन्धित विद्यालय वा परीक्षा नियन्त्रण कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन्।
परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको समयमै परीक्षा केन्द्रमा पुग्नुपर्नेछ। साथै, प्रवेशपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने, आचारसंहिता पालना गर्नुपर्ने र परीक्षा सहज वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक हुने बोर्डले आग्रह गरेको छ।



