काठमाडौं, असार ३२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समसामयिक राजनीतिक विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहीबार दिउँसो साढे ३ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार भेटघाट कार्यक्रम तय गरिएको छ।
उक्त कार्यक्रममा हालको राजनीतिक अवस्था, संसद बहिष्कार, हस्ताक्षर अभियान र रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया लगायतका विषयमा चर्चा गरिनेछ। रास्वपाले उपनिर्वाचनका सन्दर्भमा पार्टीको तयारीबारे समेत पत्रकारहरूलाई जानकारी दिने जनाएको छ।
प्रेस मिटमार्फत रास्वपाले आफ्नो वर्तमान रणनीति, आगामी योजनाहरू र राजनीतिक घटनाक्रमप्रति धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।



