काठमाडौं — नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कडा टिप्पणी गर्दै, पार्टीभित्रको भ्रष्टाचारप्रति मौन बसेको आरोप लगाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाले निरन्तर कांग्रेसमाथि आक्रमण गर्दै आएको तर आफ्नै आन्तरिक गम्भीर प्रश्नहरूबारे मौन रहेको बताएका हुन्।
बजगाईंले रास्वपाले अदालतको आदेशको अवज्ञा गरिरहेको र प्रजातान्त्रिक मूल्य र मान्यता विपरीत गतिविधि गरिरहेको दाबी गरे। उनले भने, “हामी कांग्रेसले आफ्नै पार्टीभित्र पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छौं। तपाईंहरूले आफ्ना घोटालेबाजहरूलाई कहिल्यै प्रश्न गर्नुभयो?”
सांसद बजगाईंले रास्वपाभित्र जो बोल्छ, उसलाई दण्ड दिइने प्रवृत्ति रहेको संकेत गर्दै ढाकाराम र मुकुल तामाङको उदाहरण पनि प्रस्तुत गरे। “जो सच्चाइ बोल्छ, उसको हालत त्यस्तै बनाइन्छ। अनि तपाईंहरू हामीलाई कानुनी शासन सिकाउने?” भन्दै उनले रास्वपालाई प्रचारमुखी, तर व्यवहारमा अलोकतान्त्रिक रहेको पार्टीको रूपमा टिप्पणी गरे।



