२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोध कायमै रहे पनि सोमबार प्रतिनिधि सभा बैठक सञ्चालनमा आएको छ। बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले संसद् रोकेर विरोध जनाएका थिए। गृहमन्त्री रमेश लेखकको राजीनामासहित भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै रास्वपाका सांसदहरूले सभा कक्षमै नाराबाजी गर्दै विरोध जनाएका छन्।
सभामुखको आसन घेराउ गर्ने प्रयास भए पनि सभामुख घिमिरेले संवैधानिक दायित्व र समयसीमाको हवाला दिँदै संसद् अब अवरुद्ध नहुने स्पष्ट गरेका छन्। उनले बजेटलगायत विधेयकहरू समयमै पारित गर्नु अपरिहार्य भएको भन्दै कार्यसूची अघि बढाएका छन्। राप्रपाका सांसदहरू पनि विरोधमा उभिएर रास्वपालाई साथ दिइरहेका छन्। यद्यपि बैठक सञ्चालन भइरहेकाले संसद् अब पूर्ण रूपमा रोकिएको छैन।



