काठमाडौं, असोज ३ — रूसको पूर्वी काम्चाट्का प्रायद्वीपमा शुक्रबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु पेत्रोपाभ्लोभ्स्क–काम्चाट्का क्षेत्रको पूर्वतर्फ करिब १२८ किलोमिटर टाढा र समुद्री सतहभन्दा १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
यस भूकम्पसँगै ४० मिनेटभित्रै ५.१ देखि ५.८ म्याग्निच्युडका पाँच वटा पराकम्पन पनि दर्ज भएका छन्। रूसको सरकारी भूकम्पीय सेवा अनुसार भूकम्पको तीव्रता ७.४ म्याग्निच्युडको अनुमान गरिएको छ।
काम्चाट्का क्षेत्रका गभर्नर भ्लादिमिर सोलोडोभले सुनामी चेतावनी जारी भएको पुष्टि गर्दै स्थानीय बासिन्दालाई सचेत गराएका छन्। हालसम्म कुनै ठूलो क्षतिको रिपोर्ट भने आएको छैन। अमेरिकी राष्ट्रिय मौसम सेवा र जापानको मौसम विज्ञान एजेन्सीले पनि समुद्री सतहमा हल्का परिवर्तन मात्र भएको र ध्वंसात्मक सुनामीको खतरा नभएको जानकारी दिएका छन्।
गत साउन दोस्रो साता पनि यही क्षेत्रमै ८.८ म्याग्निच्युडको भूकम्प आएको थियो, जसलाई विश्वको छैटौं शक्तिशाली भूकम्प मानिएको थियो। त्यसको प्रभावले रूस, जापान, अमेरिका र चिलीमा सुनामी चेतावनी जारी गरिएको थियो। उक्त भूकम्पपछि फुकुशिमा परमाणु रिएक्टर खाली गरिएको थियो र लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
काम्चाट्का क्षेत्रमा यसअघि पनि जुलाई महिनामा ६ वटा शक्तिशाली भूकम्प आएका थिए, जसमा दोस्रो ठूलो भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड थियो। इतिहासमा, सन् १९५२ नोभेम्बरमा यहाँ ९ म्याग्निच्युडको भूकम्प आएको थियो, जसले केही स्थानमा ९.१ मिटर अग्ला छाल उठाएको थियो, तर त्यस घटनामा मृत्यु रिपोर्ट भने भएको थिएन।
यो भूकम्प पूर्वी काम्चाट्का क्षेत्रका बासिन्दाको धैर्यताको परीक्षा जस्तो रहेको बताइन्छ, र स्थानीयहरू घरबाहिर निस्किएर सुरक्षित स्थानमा पुगेका थिए।



